FAQs Complain Problems

समाचार

सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको सदरमुकाममा दिगो समाधानका लागि नयाँ योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी इलाम बजार तेस्रो साना सहरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । 

 

एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको हो । कुल ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको ५७ करोड, ९५ लाख, ७ हजारमा ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।
आयोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराएको हो । बाँकी २५ प्रतिशत रकम भने नगर विकास कोषबाट ऋण लिइएको छ । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता छ । त्यसका लागि इलाम नगरपालिका ६, ७, ८ र ९ (साविकको इलाम नगरपालिका) का ३हजार घरधुरीले पहिलो चरणमा १५ हजार २ सयका दरले रकम जम्मा गरिसकेका छन् ।
गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा पूरा गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । खानेपानी ल्याउनका लागि यस अगाडि नै प्रतिघरधुरी १५ हजार २ सयका दरले रकम उठाइएको इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।
‘आयोजना सम्पन्न भएपछि इलाम बजारमा २४ सै घण्टा पानी झर्ने छ,’ उनले भने, ‘अहिलेको अभाव टार्नसँगै भविष्यको बढदो अवधिलाई पनि लक्षित गरी यो योजना सञ्चालनमा ल्याइएको हो ।’ राणा शासनकालदेखिकै कतिपय पूर्वाधार रहेको अहिलेको पानी आपूर्ति व्यवस्थाले सदरमुकामको माग धान्न नसक्दा समस्या छ ।
सुक्खायाममा मूल सुक्ने र वर्षातमा बाढीपहिरोले संरचना क्षतिग्रस्त बनाउँदा पानीको अभाव हुने गरेको हो । हालसम्म कार्यालय व्यवस्थापन, पाइप खरिद, माटो परीक्षण, कर्मचारी व्यवस्थापनको काम सम्पन्न भएको भइसकेको आयोजनाले जानकारी दियो । आयोजनाका प्रमुख इन्जिनियर मेघराज धिमालले पाइप फिटिङको कार्य समेत सुरु भएकाले समयमा नै काम सम्पन्न हुने बताए ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका ३ वटा र भाँडीखोलाबाट पानी ल्याइने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । योजना सम्पन्न भएपछि आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने छ । लागत सहभागिताबापतको रकमबाटै उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिने छ । साना सहरी आयोजनाले काम शुरु गरेको मुहान र अहिले नगरपालिकामा पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो ।

साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर उत्तरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्न लागेको हो । आयोजना सञ्चालनपछि नगरका चारवटै वडामा पिउने पानीको समस्या हट्ने नगरपालिकाको भनाइ छ ।

स्रोत : कान्तिपुर दैनिक पत्रिका