FAQs Complain Problems

समाचार

चर्पीको ढल नालीमा हाल्ने फन्दामा

इलाम, १८ फागुनः चर्पीको ढल सार्वजनिक नालामा मिसाउने चार जना इलाम सदरमुकाममा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिका कार्यालय इ लाम का प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको पाएको हो । इलाम बजारभित्रका देवेन्द्र शंकर, आशिर्वाद गेष्ट हाउस, टुडिखेल मोडका गणेश पौडेल र श्याम शाहको घरको चर्पीबाट निस्किएको प्रदुशित ढल सार्वजनिक नालामा मिसाएको पाईएको हो ।

स्थानीयबासीको उजुरीको आधारमा अनुगमन टोली तत् तत् स्थानमा अनुगमनमा गएको थियो । अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको स्थलगत सर्जिमिन मुचुल्का उठाएर ल्याएको छ । चर्पीको ढल सार्वजनिक नालामा मिसाउनेहरुलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ को व्यवस्था बमोजिम न्युनतम ५ हजार देखि अधिकतम १५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले बताए ।

उनले अरु कसैले चर्पीको ढल सार्वजनिक नालामा मिसाउने काम गरेको भए उजुरी गर्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, ‘उजुरी गर्ने तथा सुचना दिनेको नाम गोप्य रहनेछ, सार्वजनिक स्वास्थ्यको हित विरुद्ध काम गर्नेलाई कारवाही गराउन कोहि पनि डराउनु हुदैन ।’ जरिवाना तिर्न अटेर गर्नेको पिउने पानी, विद्युत, टेलिफोन लगायतका सेवा बन्द गर्ने तथा अचल सम्पति खरिदबिक्री बन्द गर्नसम्म सक्ने कानुनी प्रावधान रहेको छ ।